|
भो भन्दिनँ अब कविता
गणेश निरौला
पहिले त पाना खाली हुन्थे
र माटोको कविता लेख्थेँ
शब्दहरू तरल बन्थे
र कुलोले भावना भर्थेँ
पाना त अहिले पनि छ मेरो हातमा
कलम त अझै पनि छ मेरो साथमा
तर पाना च्यातिएको र फ्याँकिएको छ
र कलम भाँचिएको र टेकिएको छ
अक्षरहरू किरमिर,
नबुझिने र अस्पष्ट छन्
अक्षरहरू,
जो न शब्द बन्छ न वाक्य हुन्छन्
मात्र कर्कश ध्वनि सुनिन्छन्
न अब शब्दहरूमा त्यो तरलता छ
अब न विचारहरूमा त्यो सरलता छ
कविता
अब न राष्ट्रको गीत गाउँछे
कविता,
अब न सिन्दुर र पोते लाउँछे
कविता,
अचेल खालि
सहरतिरै धाउँछे
फर्केर आउली-नआउली निधो छैन अब ता
अनि किन लेखौँ म कविता
कविता,
जो आफ्नै प्रसव वेदनामा
चिच्याउन जान्दिन
कविता,
जो अधिकारको जुलुस
उठाउन पनि मान्दिन
कविता,
घरै लुटिँदा पनि
जो गुहारसम्म माग्दिन
भीडमा आफू हराउँछे
आफूलाई आफैँभित्र कहिल्यै छाम्दिन
साँढेले गाईको दूध खाइरहँदा
खोइ,
कविता हेरिरहन्छे,
एकै शब्द बोल्दिन
बाछो दाम्लैमा सेरिँदा
कविता मौन छे,
मुख एकै पटक खोल्दिन
मात्र शून्यमा टोलाइरहन्छे
रित्तो काख खेलाइरहन्छे
हेरिरहन्छे मात्र रमिता र फगत रमिता
अब लेखिँदैन कविता,
कोरिँदैन कविता
घरमाथि माथिसम्म धमिरा छ
चर तलै तलैसम्म छरिया छ
र घरकै मान्छे छानो भत्काउँदैछ
घाम र शीत खपेर कविता बाँचिरहेकी छे
र घरकै मान्छे चराको ढुङ्गा चोट्याउँदै छ
कविता मनमनै चोट साँचिरहेकी छे
ऊ प्रतिकार गर्दिन
गुँगी भइछे,
अब कहिल्यै बोल्दिन
अब कविताले
बिर्सिए आफ्नै महत्ता
मात्र ठोस,
गह्रौँ र अबोध गद्य छ जतातता
अनि मेलै किन
लेख्नु कविता
भो म लेख्दिनँ कविता
अब भन्दिनँ म कविता ।
बुधबारे,
झापा
|