|
|
|
| अङ्क दुई ( साउन भदौ असोज) सम्पादकीय कविताः कृष्णभूषण बल, श्रीधर शर्मा, रश्मिशेखर, कमला प्रसाईँ गीतः रवीन्द्रनाथ ठाकुर, विनीता राई गजलः मनु मन्जिल, रीता ताम्राकार विचारः कृष्ण धरावासी, कमला सरूप, दिनेश पौडेल मुक्तकः भूषण ढुङ्गेल लघुकथाः शर्मिला दाहाल, टीका सुवेदी, आर. सी. रिजाल
हाम्रो राष्ट्रभाषा नेपाली
समृद्ध भाषा हो। यस कुरामा त दुईमत नहोला तर अचेल नेपाली भाषाको
प्रयोगमा व्यापक रूपमा देखिएको लापरवाही र अराजकताले हामीलाई अत्यन्त
मर्माहत पारेको छ। ‘आ आफ्नै भाषा त हो नि, बुझे भैहाल्यो नि किन शुद्ध
चाहियो र .....?’ भन्ने खालका अभिव्यक्तिहरू जताततै पाइन्छन्। प्रधान सम्पादक
कृष्णभूषण बल
टुङ्गा को लक्ष्य
साधेर हिँडेको हुँ फेदीदेखि टाकुरासम्म
जसरी उकालो लागेको
थिएँ म, आफूले खाम्न सक्ने एउटा भारी उचालेर
डाँडालाई तल झार्नु
पनि डाँडामाथि उक्लनै पर्दो रहेछ
म फट्फटाएर भोलि
बास्ने बिहानसँग निश्चिन्त छु
केही औषधीहरू छन्
भारीमा, बिरामीहरूलाई बाँडौँला
श्रीधर शर्मा
घामका उज्याला,
न्याना किरणहरूले
दूर क्षितिजमा
रमाएर उफ्रिरहने
बिम्ब र प्रतीकले
दुलही सजाउने रहर
कविता !
-रश्मिशेखर
जुनकीरीहरू
लाटोकोसेराहरू
रातको
गङ्गा नुहाएर -बिर्तामोड, झापा
कमला प्रसाईँ (ढकाल), अस्तित्वविहीन छ यो यात्रा
यतिखेर मेरो गोरेटामा जन्मः 7 मे 1861 मृत्युः 7 अगस्त 1941 साहित्यमा नोबेल पुरस्कार, कृति ‘गीताञ्जली’मा ( 1913) अन्य कृतिहरूः गीतवितान, सञ्चयिता, गल्पगुच्छ, छिन्नपत्र आदि ।
गीताञ्जली - 7
तिमी नवनव रूपमा आऊ प्राणमा । आऊ सुगन्ध चयनमा आऊ गानमा । आऊ अङ्गमा पुलकित स्पर्शमा आऊ मनमा अमृतमय हर्षमा आऊ मुग्ध मूदित दुई नयनमा । तिमी नवनव रूपमा आऊ प्राणमा । आऊ निर्मल उज्ज्वल कान्त, आऊ सुन्दर स्निग्ध प्रशान्त, आऊ, आऊ है विचित्र विधानमा । आऊ दुःखमा सुखमा, आऊ मर्ममा, आऊ नित्यनित्य सब कर्ममा, आऊ सब कर्म-अवसानमा । तिमी नवनव रूपमा आऊ प्राणमा ।
गीताञ्जली - 31 म यहाँ बस्छु मात्रै गाउँदै तिम्रो गान देऊ मलाई तिम्रो जगत्-सभामा अलिकति स्थान ।
म तिम्रो भुवनमाझमा लागिनँ नाथ कुनै काममा केवल सुरमा बज्छ बिनाकामको यो प्राण ।
निशाको नीरव देवालयमा तिम्रो आराधन तब मलाई आदेश गर गाउन हे राजन् ।
बिहान जब आकाश जोडिँदै बज्दछ वीणा सुनको सुरमा तब म नरहूँ टाढा यही देऊ है मलाई मान ।
मूल बङ्गाली भाषाबाट अनुवादः कुमुद अधिकारी
-विनीता राई न त ज्यानको माया न त मनको माया, जाँदै छु म त्यो पारि वन घाँसदाउराको निम्तेरी हँसिया र नाम्लोसँग डुल्दै छु म त रानीवन ।
हरियाली वन छ, वनैमा किन मन हुन्छ उदास न्याउलीको रुवाइ सुनेर हो कि मन भयो उराठ भागेझैँ लाग्छ छेउछाउको चरी उजाड भो यौवन घाँसदाउरा खोज्दै बित्ने हो कि जीवन ।। शिरमा नाम्लो कम्मरमा हँसिया, ढाडैमा डोको छ फाटेर गयो एकसरो चोली ज्यान पाल्न गाह्रो छ क्यै राम्रो लाउने, क्यै मीठो खाने सपना नै हुनेभो वन र पाखा धाउँदाधाउँदै जिन्दगी बित्नेभो (-सङ्गीतः राम थापा)
-मनु मन्जिल तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ जून भेट्ने रहरमा घाम भुली आएँ ।
पाखाभरि फुल्ने गुराँस ‘बैँस लैजाऊ’ भन्थे तिम्रा लागि फूलैफूलको इनाम भुली आएँ ।
एक छेउ आँचल देऊ न, गोप्य लिखत दिऊँ हतारमा दौडेको थेँ, खाम भुली आएँ ।
कोइलीहरू हराएको धुन खोज्दै होलान् आउँला भन्दै हिँडेको म जमान भुली आएँ ।
तिम्रै तस्बिर बनाऊँ कि एक जिन्दगी म ? यसकै लागि आखिर सारा काम भुली आएँ ।
-रीता ताम्राकार
मेरो कथा शून्यशून्य ठाउँहरूमा खोज । मेरो व्यथा चह-याउने घाउहरूमा खोज ।
चुँडिएको चङ्गाझैँ म बेठेगान उडिरहेँ , मेरो ठेगाना निर्जननिर्जन गाउँहरूमा खोज ।
भत्किएको मन्दिरजस्तो आस्थाभन्दा पर, मलाई खोज्दा बिर्सिएका पाउहरूमा खोज ।
बाँसुरीझैँ चोट बोकी धेरै गीत गाएथेँ, अब मौन सागरमाथि नाउहरूमा खोज ।
फूल छोडेँ जून छोडेँ उज्यालो सब छोडेँ, अब मलाई नियतिका दाउहरूमा खोज ।
बहुनायकत्वको लीलाचेतः लीलालेखन -कृष्ण धरावासी बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा पनि क्रेताले आफ्नै हातले आफूलाई आवश्यक पर्ने सामान पसलबाट रोजीरोजी छानेर विक्रेताका अघि बिल बनाउने ठाउँमा थुपार्न खुसी हुन्छन् । डिपार्टमेन्टल स्टोर्सहरूको लोकप्रियता बढ्नुको पछि पनि क्रेताको यही स्वतन्त्रताको आधार रहन्छ । स्वतन्त्रता प्रत्येक जीवन बाँच्ने प्रथम सर्त हो । जुनसुकै तह र अवस्थाको व्यक्ति पनि आफ्नै हैसियतभित्र स्वतन्त्रताको हक खोज्दछ। सामाजिक, राजनैतिक, धार्मिक वा अरू जुनै पनि बन्धनहरू उसका विरोधी हुन्छन्। मुक्त जीवनको महान् सपना बोकेको ऊ सदा कुनै न कुनै रूपमा सङ्घर्षरत छ नै। आ-आफ्नो स्तरभित्रै ऊ द्वन्द्वमा छ। मजदुरी गरिरहेको ऊ ठेकेदारसँग सङ्घर्षरत छ, अधिकारफ्राप्तिका लागि लड्न खडा गरिएको युनियनसँगै त्यसको नेतृत्वसँग असन्तुष्ट छ ऊ। कहीँ पनि उसलाई कँज्याउने कुराका विरुद्ध भित्रभित्रै सदा सङ्घर्षरत छ। समाजको जुनै क्षेत्रमा पनि कुनै एउटा विषय वा व्यक्तिलाई विशेष बनाई त्यसकै वरिपरि अरू गतिविधि सक्रिय हुने पुरानो परम्परा हो । आफूलाई गौण ठानी, उसलाई महान् स्वीकार गर्ने परम्परा धेरै कालसम्म चल्यो। पिछडिएको समाजमा चेतना कम भएको समाजमा, यो परम्परा अहिले पनि यथावत् छ। गाँउसमाजमा एउटालाई मूली मानेर, नायक मानेर बाँकी सबै उसैका सहायक पात्ररूपमा गतिशील हुने चलन धेरै पुरानो चलन हो। यस चलनले समाजमा एउटा थिति त बसालेको होला तर त्यसले समाजलाई अघि जान भने पटक्कै दिएको हुँदैन । प्रत्येक कुराको अनुमति नायकबाट लिनुपर्ने, अनुमति नपाइएको कुरा स्वेच्छाले गरे नायक रिसाउने र त्यसको ठूलै सास्ती पाइने हुन्छ। तर अब समाज बिस्तारै एकल नायकत्वबाट मुक्त हुन खोजिरहेको छ। संसारका कैयौँ विकसित मुलुकहरू यो एकल नायकत्वबाट मुक्त भएको कति भयो, भयो....., हामीकहाँ भर्खरै यो चेतनाले प्रवेश गरिरहेको छ । बहुलताको यस चेतनाभित्र मुक्तिको लडाइँ लडिरहेका हामी आपसमै पनि द्वन्द्वरत छौँ । हजारौँ वर्षदेखिको एउटा सिलसिलामा आइरहेको यस परिवर्तनले स्वयं मुक्ति चाहने पात्र पनि अन्यौलमा छ । ऊ ठीक गरिरहेको छ कि त ? मौलिकताको ठूलो ज्ञानभण्डार बोकेको व्यक्ति पनि कहिलेकाहीँ परम्परागत प्रभावका कारण चमत्कारहरूतिर आकर्षित हुन पुग्छ । विज्ञानले अस्वीकार गरेको भाग्यवादमा बज्रिन पुग्छ। आज पनि कैयौँ द्वन्द्वात्मक भौतिकवदीहरू कहिले साईधामतिर कहिले सिक्किम,कोप्चेको निर्मलधामतिर लुकीलुकी धाइरहेका छन् । हजारौँ वर्षदेखिको एकनायकत्व स्वीकार गर्दै आएको लुप्त मनोअवस्थामा कहिलेकाहीँ ‘म कहाँ छु’ भन्ने वर्तमान चेत हराउन गई मानिसले आफैँलाई बिर्सिएको बेला थाहै नपाई विगततिर फर्किसकेको हुन्छ। आज कैयौँ ठूलाठूला मार्क्सवादीहरू मन्दिरनिर्माण र जीर्णोद्धार-समितिहरूमा सक्रिय छन्। क्याम्पसको सहयोगार्थ आर्थिक सङ्कलन गर्न भनी क्याम्पस हाताभित्र सप्ताह पुराण आयोजना गरी त्यसका कर्ता भई निधारमा चन्दन लगाइरहेका छन्। उपप्रधानमन्त्री भएका बेला माधवकुमार नेपाल तिरुपति बालाजीको दर्शन गरिरहेका थिए। आज पनि कमरेड आर. के. मैनाली बेलाबखत ज्योतिषीहरूलाई घरमा बोलाई हस्तरेखाको लम्बाइ नापिरहेका छन्, चिनाको दशागोचर गनाइरहेका छन्। वर्तमान विश्वासमा जब आफ्नो नायकत्व कमजोर हुन्छ, पात्र फर्किन्छ पुरातन विश्वासतिर। समूहले आफ्नो नायकत्व स्वीकार गरेसम्म सम्पूर्ण विगतका विरुद्ध एक्लै सङ्घर्ष गर्ने अठोटका साथ संसारतिर हेलिएको ऊ उमेरको वृद्धतासँगै फर्किँदै गरेको पाइन्छ पुरातन विश्वासहरूतिर। अभाव र गरिबी प्रायः सबै दुःखका कारणहरू हुन्। अभाव र गरिबीका कारण पछि परेको शिक्षा र चेतनाले व्यक्तिलाई शासित र निरीहत्व प्रदान गर्दछ। हारिएको मानसिकता जहाँ पनि समर्पित हुन्छ- मालिकसँग, देवतासँग, जोसँग पनि। तर अब बिस्तारैबिस्तारै हाम्रो समाजमा पनि बहुलताले प्रवेश गर्दै गरेको बेला छ। एकल नायकत्वको विघटन हुन प्रारम्भ भएको छ। अब गाउँमा एउटा साहुमहाजनका हातमा मात्र त्यहाँको अर्थतन्त्र केन्द्रित छैन, टोलटोलमा सामुदायिक वित्तीय संस्थाहरू गठन भएका छन्। सस्तो ब्याजदरमा ऋण प्रदान गर्ने संस्थाहरूका अघि किर्ते साहु धराशायी हुँदै गएको छ। राजनीतिमा कुनै एउटा व्यक्ति सर्वमान्य नेता अब रहेन, नाताहरू एउटै दलभित्र पनि अनेक भए, अनेक विशेषताले कुनै एउटा जातिविशेष, धर्मविशेष, विश्वासविशेषले काम गर्न छाड्दै छ अचेल। अचेल कोही पनि आत्मविश्वासका साथ कुनै कुराको जिम्मा लिन सक्दैन। बाबुआमाको पूर्ण नायकत्व स्वीकार गर्दैनन् छोराछोरी, नोकरचाकरले मालिकको मूर्दा दासता स्वीकार गर्दैनन्। समाजको यही बदलिँदो अवस्थाको अध्ययन गरिरहेछौँ हामी साहित्यकारहरू पनि आफ्नो लेखनमा। परम्परागत लेखनमा एउटा नायक वा नायिकाकै अघिपछि सम्पूर्ण कथाले केन्द्रित हुनुपर्ने, तिनै नायकनायिकालाई तिनको विशिष्ट भूमिका सार्थक गराउन अरू सानातिना भूमिकामा अरू पात्रहरू आउनुपर्ने, सम्पूर्ण कथाले अन्त्यमा एउटा विशेष उपदेश-सन्देश दिनुपर्ने र त्यसलाई पाठकले मान्नुपर्ने, संयोग वा वियोगमा कथा केन्द्रित रहनुपर्ने आदि परम्परागत लेखनले पाठकहरूलाई पनि त्यसअनुरूप रुढदृष्टि दिइआएको थियो/छ। तर यथार्थमा अबको समाज यति सानो र सीमित घेरामा रहेको छैन। समाज धेरै अघि गइरहेको छ र हाम्रो लेखन धेरै पछि छुटेको छ। पहिलेपहिले लेखनको पछि समाज हुन्थ्यो, आज समाजको पछि लेखन घिस्रिरहेको छ। लेखनले समाजको भविष्यको नेतृत्व गर्नुपर्ने हो तर यो अडिएको छ कहालीलाग्दो भूतकालमा। उति पछाडिको लेखनले वर्तमान कसरी सन्तुष्ट हुनसक्छ? त्यसैले अबको लेखनमा बहुनायकत्व, बहुविचार र बहुकथाहरूको सन्जाल बुनिएको हुन्छ। समाजका सबै वर्गलाई प्रतिनिधित्व गर्ने लेखनमा समाजको यथार्थचित्रण उठाउँदा त्यहाँ विशेष नायक कोही बन्नै सक्दैन। नायक खडा गरेर लेखन गर्न थाल्दा त्यस लेखनमा लेखकको वैयक्तिक कमजोरी वा उसका अहम्-हरू प्रमुखरूपमा अभिव्यक्त भइरहने हुन्छ तर समाजको लेखन गर्न थाल्ने हो भने कथाले आफैँले नायकको छनौट गर्दै जान्छ। सुरुमा एउटा नायक होला भनी गरिएको अनुमान कथा अघि बढ्दै जाँदा टुट्दै जान सक्छ। सोचेको नायक साधारण पात्रमात्र बनी सोच्दै नसोचेको साधारण पात्रले नायकत्व ग्रहण गर्नसक्छ। कुनै एउटा पात्रलाई नायक बनाउने परम्परा पुरानो सामन्ती विश्वासको अवशेष हो। त्यस नायकको शासनमा अरूले बस्नुपर्ने र त्यसलाई स्थापित गर्न अरूले उसको भन्दा कमजोर भूमिका खेलिदिनुपर्ने, यो अवस्था पुरानो सामन्ती समाजको चिन्तनपरम्परा हो। समाजमा रहेको कुनै एक धनी मानिसले सारा गाउँलाई आफ्नो इसारामा चलाई त्यस गाउँको नायक आफूलाई उभ्याई पल्लो गाउँको नायकसँग जोरी खेलिरहेको हुन्थ्यो र अरूले आफ्नो नायकको पक्षमा बिपत्तामा पल्लो गाउँको नायकका पक्षधरहरूसँग जुधिरहनुपर्थ्यो। समाजको यो परम्परा नै साहित्यमा पनि आउँदा एकल नायकत्वको परम्परा विकसित भएको हो, तर अब लेखन यस खाडलबाट पाखा आइरहेको छ। हाम्रो साहित्यको नयाँ युगचेतना र उत्तरआधुनिकताले प्रवेश गरिरहेको बेला छ। मुक्त लेखनको यस अभियानमा अब हामी बहुनायकत्वको लीलाचेत लिएर लेखन गरिरहेछौँ लीलालेखन।
एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ। विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, ग्रेजिया देलेछा, पर्ल एस बक, सिग्रिड उढ्डस सेट, ग्राबिला मिस्त्राल, नेली साक्स, नादिन गार्डिनर, टोनी मासिनका साथै नेपालकी प्रसिद्ध साहित्यकार पारिजातका साहित्यमा पाइने अमूर्तताको सरसरती मूल्याङ्कन गर्दा जीवन र साहित्यको प्रतिबिम्बित रूप भनेको शृङ्गारिक कला र त्यसको प्रत्यक्ष सम्बन्ध जीवन हो भन्ने कुरा प्रस्ट हुन्छ। हुन त अमेरिकी प्रसिद्ध साहित्यकार एमिली डिकिन्सनको कविता र साहित्यमा वर्तमान विसङ्गति, प्रेमको पूर्ण स्वरूपतालाई सरसरती उतारेको पाइन्छ। पारिजातका साहित्यमा पाइने स्वच्छन्दतावाद, प्रयोगवाद र यथार्थवादलाई प्रतिस्पर्धात्मक अभिव्यक्ति र नवीन शिल्पशैलीका माध्यमबाट जसरी सिरिसको फूलले एउटा मूर्तता खडा गरेको छ नेपाली साहित्यमा त्यसरी नै एमिली डिकिन्सनले पनि अङ्ग्रेजी साहित्यको धारमा नयाँ प्रयोगवादी मूर्तरूप दिएकी छिन्। डिकिन्सन र पारिजातका साहित्यहरूमा पाइने एक साझा अभिव्यक्तिको कुरालाई सम्झँदा मृत्यु, प्रेम र मानवीय सम्बन्धको आधारमा जीवन भोग्नु हो भन्ने कुरा स्पष्ट हुन जान्छ। हुन त दुवै लेखिकाहरूका आ-आफ्नै भिन्नाभिन्नै शैली र लेखनको कुरा गर्दा दुवैजनाले आफ्नो लेखनमा परम्परा, चेतना र अनुभूतिलाई कलात्मक ढङ्गले लेख्तै लेखनको विशिष्टता र संरचनापद्धति, मौलिक भेदको व्यख्या शब्दचयनमा उत्कृष्टताजस्ता कुराहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको पाइन्छ। हुन त केही समालोचकहरूले के पनि निर्क्यौल निकालेका छन् भने डिकिन्सनका साहित्यिक कृतिहरूमा पाइने विषयवस्तु र शैलीको प्रयोगबाट विश्वसाहित्यमा नयाँ आयाम थपिएको छ। समग्रमा मानवजातिको प्रेमलाई आफ्नो जीवनसँग र जीवनका सुखी क्षणहरूसँग कसरी एउटै आधारबाट स्वीकार्न सकिन्छ भन्ने साहित्यको एक धारमा असीको दशकपछि विश्वसाहित्यले नयाँ प्रतीकात्मक आयाम थपेको छ। सन् १८३० डिसेम्बर १० तारिखका दिन मासाचुसेट्स राज्यको अन्यएर्ट गाउँमा जन्मिएकी एमिली डिकिन्सन अमेरिकी कविहरूमध्ये प्रख्यात कवयित्री रूपमा मानिन्छिन्। नेपालकी प्रसिद्ध लेखिका पारिजात जसरी नेपाली साहित्यिक इतिहासमा नबिर्सिने नाम हो, डिकिन्सन पनि अङ्ग्रजी साहित्यमा बाँचिरहने नाम हो। सरसरती भन्नुपर्दा यथार्थवादी लेखिकाहरू एमिली डिकिन्सन र नेपाली साहित्यकार पारिजातको लेखनलाई कोमल भाषाशैली, छन्द, अलङ्कार र सहज शब्द मिलाएर उजिल्याउने परिष्कारवादी धारमा उभिएर पनि विश्लेषण गर्नुपर्ने हुन्छ। हुन त यहाँ हामी फ्रान्सिस रेको रोमान्टिक उपन्यास ‘‘हर्ट अफ द फाल्कोन’’ले देखाएको स्वन्छन्दतावादी दृष्टिकोण र त्यसको संरचनात्मक पद्धतिलाई हेरेर पारिजात र एमिली डिकिन्सनको साहित्यमा पनि त्यो प्रेमलाई खोज्ने प्रयास गर्न सक्छौँ। या अर्कोतर्फ अमेरिकी लेखिका सिली हेल्सटकको नयाँ यौनवादी उपन्यास ‘‘मिरर इमेज’’ भित्रको यौनविश्लेषणात्मक प्रेमको स्वरूपतालाई पनि यी दुवै लेखिकाहरूमा देख्न सकिन्छ। यहाँ बीपी कोइरालाको सुम्निमा र त्यसले प्रतिपादित गरेको यौनविश्लेषणको पनि व्याख्या गर्नुपर्ने हुन्छ। हुन त अर्की अमेरिकी लेखिका भी.सी. एन्डियुजको उपन्यास ‘‘गेट्स अफ प्याराडाइज’’ले देखाएको अन्तरवस्तु र आफैँमा सीमित भएर प्रेम गर भन्ने उनको भनाइ र लेखाइको प्रतिबिम्बित रूप पनि पारिजात र एमिली डिकिन्सनमा पाइन्छ भन्दा फरक नपर्ला। हुन त एमिली डिकिन्सन जीवनप्रेम र कलालाई जीवनसँग प्रतिस्थापित गर्दै जीवनको मूलधारमा पुग्न सफल भएकी थिइन् जुन अङ्ग्रेजी साहित्यको एक विशेषता हो भन्ने कुरालाई समालोचकहरूले स्वीकारेका छन्। हुन त डिकिन्सनले सौन्दर्यपरक र भावपरक साहित्यका बारेमा एउटा मान्यता के पनि स्थापित गरेकी थिइन् भने मनोवैज्ञानिकता र मनोविश्लेषणात्मकतालाई आफ्ना कविताका माध्यमबाट कसरी प्रतिबिम्बित गर्न सकिन्छ भन्ने हो। यहाँनिर पाठकहरूले सोच्न सक्ने एक साहित्यिक धार - जुन पारिजातको सिरिसको फूलले देखाएको छ-मा स्वच्छन्दतावाद र कलात्मक शिल्पमा मानवपरकतालाई बुझ्नुपर्छ। सिरिसको फूलले देखाएको मानवता र मानवीय सम्बन्धको एक महत्त्वपूर्ण धार पनि यथार्थवादसँग मिल्न गएको छ। हुन त सिरिसको फूलको प्रेम एटलान्टिकका लेखक थोमस वेन्टवर्थ हिगिनसनको जस्तो प्रेम थियो भन्दा फरक पर्दैन। प्रेम अमर हुन्छ र प्रेम मुटुबाट सुरु भएर मनमस्तिष्क र आत्मासम्म पुगी त्यो मानवतावादमा परिणत हुन्छ भन्ने कुरालाई सिरिसको फूलले देखाएर मानवतावादको वकालत गरेको छ। मनोविज्ञान, भावुकता र आदर्शलाई आफ्नो मुख्य विषयवस्तु बनाएर लेख्ने विश्वप्रसिद्ध लेखिकाहरूमा ग्राबिला मिस्त्राल, नेली साक्स या सेल्मा लागप्लोफको लेखनको विस्तृत चित्रण पनि डिकिन्सनमा र पारिजातमा पाइने विशेषता हो। यसर्थ पूर्वीय काव्यधारामा आएको परिवर्तन होस् या पश्चिमी स्वच्छन्दतावादी शैलीमा लेखिएको परिवर्तनलाई आत्मसात् गर्दै जसरी वर्ड्सवर्थ, सेली र किट्सले मानवपरक अभिव्यक्तिलाई प्रेमको उचाइमाथि प्रतिस्थापित गर्दै यथार्थवादको वकालत गरेका थिए, तिनलाई एमिली डिकिन्सनले पनि पछ्याएकी थिइन्। हुन त पारिजातले पछिल्ला दशकमा आएर मैले नजन्माएको छोरो लगायतका आफ्ना |